पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, अब पेट्रोल पम्पले इन्धन बिक्री गर्ने
काठमाडौं । विभिन्न माग राख्दै पेट्रोलको ढुवानी र बिक्री ठप्प पारेका पेट्रोलियम व्यवसायी र नेपाल आयल निगमबीच चार बुँदे सहमति भएको छ ।
सहमतिसँगै आइतबार बिहानदेखि आयल निगमका सबै डिपो खुल्ने निगमले जनाएको छ । पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धी ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबार बारे मागको सम्बन्धमा जेठ १५ सम्ममा सम्बोधन सक्ने सहमति भएको निगमले जनाएको छ । 
शनिबार निगमको केन्द्रीय कार्यालय टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसायीका संस्थागत समितिसँग वार्ता भएको थियो । सहमतिपछि आन्दोलनरत् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगत गरेको जनाएका छन् ।
पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण २ दिन नागरिकले सास्ती पाएका थिए । पेट्रोलको ढुवानी नगरेका व्यवसायीका कारण पेट्रोल पम्पमा इन्धन रिक्तिएको थियो भने मौजाद पेट्रोल पम्पमा सवारी साधनको लाम लागेको थियो ।