कतार च्यारिटीद्दारा लुम्बिनीका ८ स्वास्थ्य संस्थालाई एम्बुलेन्स
बुटवल ।
कतार च्यारिटीले लुम्बिनी प्रदेश सरकारलाई ८ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेशका विभिन्न जिल्लाका दुरदराजका नागरिकलाई सेवा दिने उद्देश्यले कतार च्यारिटीले लुम्बिनी एकीकृत विकास संस्थाको समन्वयमा प्रदेशका ८ वटा सरकारी स्वास्थ्य संस्था मार्फत सञ्चालन हुने गरि प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

आवश्यकता र भौगोलिक अबस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पाल्पा रामपुरको गाडाकोट स्वास्थ्य केन्द्र, गुल्मी कालीगण्डकीको पुर्तिघाट स्वास्थ्य केन्द्र, रुपन्देही मर्चवारीको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र, कपिलवस्तुको शिवराजको शिवराज स्वास्थ्य केन्द्र, बांके नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्र, बर्दिया राजपुरको बदलपुर स्वास्थ्य केन्द्र, बबईको हापुरे स्वास्थ्य केन्द्र र प्युठान बिजुवारको प्युठान अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
लुम्बिनी एकिकृत बिकास संस्थाका संरक्षक एवं संघीय सांसद अतहर कमाल मुसलमान र कतार च्यारिटीका कन्ट्री डाइरेक्टर इरशाद अली शेखले प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसी र स्वास्थ्यमन्त्री इन्द्रजित थारुको रहोबरमा स्वास्थ्यसस्थाका प्रमुख र जनप्रतिनिधिलाई एम्बुलेन्स सहित कागजपत्र हस्तान्तरण गर्नुभयो।

ख वर्गको मापदण्ड पुरा गरेका ८ वटा एम्बुलेन्सको लागत १ करोड ६३ लाख ८६ हजार १ सय १२ रुपैयाँ रहेको सांसद अतहर कमाल मुसलमानले जानकारी दिनुभयो । उहाँले एम्बुलेन्सका चालकलाई एक वर्षसम्मको तलब समेत सस्थाले दिने बताउनुभयो । एम्बुलेन्समा इमर्जेन्सीका ईसीजी मोनिटर सहित २४ वटा उपकरण रहेको कतार च्यारिटीका कन्ट्रि डाइरेक्टर ईरशाद अली शेखले बताउनुभयो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष गरि गाउँका स्वास्थ्य संस्थाबाट चलेपछि बिपन्न समुदायलाई अझ बढी सहज हुने बताउनुभयो । स्वास्थ्यमन्त्री इन्द्रजित थारुले गर्भवती र शिशु मृत्युदर कम गर्न यसले सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।